आमा भन्नुहुन्छ : कहिल्यै हार नखानु
– ईश्वर पहारी , ११ बैशाख २०७७।
विस २०२६ साल भाद्र २६ गते जन्मिएर आज ३ सन्तानकी आमा हुन सफल मेरी प्यारी आमालाई सर्बप्रथम त हार्दिक बधाई । संस्कृतमा माता शब्द अत्यन्त निकै सम्मानका साथ प्रयोग गरिन्छ । कतै लडियो वा ठक्कर लाग्यो भने हाम्रो मुखबाट सर्बप्रथम ऐया आमा भन्ने वाक्यांश निस्किहाल्छ । कुनै अप्ठ्यारो परिस्थिति आईलाग्यो भने पनि हाम्रो मुखबाट आमा शब्द नै निस्किहाल्छ ।
मानिसमा मात्र नभै अन्य प्राणीमा पनि आमाको भूमिका प्रशंसनीय छ। चराले किन टाढा टाढासम्म पुगेर आफूले नखाएर पनि चुच्चोमा आहार च्यापेर ल्याउँछ ? भर्खरै जन्मिएको बाच्छाको नजिक जाँदा गाईले किन हान्न खोज्छ ? बाँदरको बच्चालाई चलाउन खोज्दा किन बाँदरहरू उठेर आउँछन् ? यी सबैको उत्तर एउटै छ : प्राणीलाई आमाले जस्तो माया गर्ने संसारमा अरू कोही छैन ।
९ महिनासम्म मलाई गर्भमा धारण गरेर जन्म दिने आमा वास्तवमै महान् छिन्। आफूले खाएर होस् या नखाई आफ्ना छोराछोरीको पेट भर्ने आमाहरु महान हुन् । सुख दुख जीवनका दुई पाटा हुन, एक नभए अर्कोको कुनै मतलब हुँदैन । हरेक व्यक्तिले आफ्नो ठाँउबाट आफूले सकेको गर्छ, बस केका लागि, मात्र एउटा उतर छ खुसी हुनका लागि । आमाको छायाँ वा मातृचरणमा रहने सौभाग्य प्राप्त गर्नु स्वर्गभन्दा पनि ठूलो प्राप्ति हो। लोकोक्ति पनि छ : अरूको लाख, आमाको काख । अर्थात् सन्तानका लागि आमाजत्तिको माया प्रदान गर्ने अरू कोही हुँदैनन् ।
आमा जीवनकी स्रष्टा हुन्। आमा धर्ती हुन् जसले बीजलाई आफ्नो गर्भमा राखेर जीवन अंकुराउँछिन्। मेरी आमा पनि मेरा लागि कथाकाररूपी स्रष्टा हुन्, जसले एउटा कथाका रूपमा मेरो सिर्जना गरेकी छिन्। जब मैले आमालाई अनुभूति गर्न पाएँ, मेरा लागि सधैं स्नेहशील, ममतामयी र मेरा हरेक सुखदुःखमा साथ दिने साथीका उहाँलाई रूपमा भेट्टाएँ। एक्लो छोरा भएकाले पनि होला मेरी आमा मप्रति विशेष संवेदनशील हुनुहुन्छ।
बाल्यकालदेखि अहिलेसम्म मप्रतिको मेरी आमाको व्यवहारमा कुनै परिवर्तन छैन। म अहिले पनि आमाका लागि काखमा लुटुक्क निदाउने बालक हुँ। मेरी आमाको जीवन संघर्षमय छ। मेरी आमाको संघर्षको कहानी भन्ने हो भने जो कोहिको पनि आखाबाट आँसु झर्नेछ। धेरै आमाहरुले यस्तै संघर्ष गरेर सन्तानलाई हुर्काएका हुन्छन् । मेरी आमाका लागि त यो आजको दिन अर्को जुनी जस्तै लाग्छ होला। जब मेरी आमाको अनुहारमा निरासापन देख्छु अनि मेरो दिन नै मुड अफ हुन्छ । आमालाई घरमा नदेख्दा नरमाइलो लाग्छ, घर उजाड र सुनसान लाग्छ। आमा नहुँदा घरमा केही अधूरो अपूरो भएझैं लाग्छ।
बाल्यकालदेखि अहिलेसम्म उहाँकै कथा सुनेर हुर्किए । मेरो सबैभन्दा ठूलो प्रशंसक भनेकै मेरी आमा हुनुहुन्छ। मेरी आमाले गरेका हरेक निर्णयमा मलाई सन्तुष्टि मिल्छ। जब मैले केही राम्रो कार्य गरेर मेरी आमाको अनुहारमा खुसी ल्याउन सक्छु नि, त्यति बेला म आफूलाई नै बिर्सन्छु । आफूले गरेको दु:ख कष्ट सम्पूर्ण मेरो दिमागबाट हट्छ र म मेरी आमासँगै रमाउने गर्छु ।
आमा शब्दको परिभाषा दिन गाह्रो छ । मेरी आमा मेरा लागि भगवान् हुनुहुन्छ । अरूलाई राम्रो गरे आफूलाई पनि राम्रो हुन्छ र जीवनमा जस्तोसुकै कठिन परिस्थिति आए पनि कहिलै हार खानु हुदैन भन्ने कुरा मैले उहाँबाट सिकेकी हुँ। सहनशील र हरेक परिस्थितिमा धैर्य गर्न सक्ने उहाँको क्षमता अवर्णनीय छ। म बाचा गर्छु मेरी आमाको आँखामा कहिल्यै आँसु आउन दिने छैन । चाहे जस्तोसुकै अप्ठ्यारो परिस्थिति सङ पनि लडाइँ गर्न नै किन नपरोस्। आजसम्म कहि कतै केही गल्ती भए होलान् तर पनि हजुरकै सानो चन्चले, चुलबुले र कच्चा छोरा सम्झेर माफ गर्दिनुहोला मेरी आमा ।
More Articles
कविता : “मेरा दारी”
हिउँद बर्षा नभनी रात बिहान नगनी पन्ध्र वर्षकै उमेरदेखि अनुहारमै टाँसिएका सुख अनि दु:खमा संगी बनी गाँसिएका मेरा जीउका पौष्टिक पदार्थ खाएर अलि अलि भएको बोसो आफैंतिर लाएर सुन्दरता वा कुरुपता जे जस्तो गराएका भए पनि तीन सय साठी घण्टा मेरो सुख दु:खका साथी र साक्षी बनेका ए मेरा तील चामले दारीका रौंहरू!