मेरो नाम बसन्त अधिकारी । उमेर ४२ बर्ष । स्थायी बसोबास, बिराटनगर ।
आनन्द हरेक मानिसको सबैभन्दा ठूलो खोजी हो । यो आनन्दका लागि कोही संगीतमा जीवन खोज्छन्, कोही गायनमा, कोही कलामा र कोही साहित्यमा । म भने दाह्रीमा आफ्नो आनन्द खोज्ने गर्दछु । म १६ वर्षको हुँदादेखि मेरा दाह्री जुँगा पलाउन थालेका हुन् तर २० वर्षको उमेरदेखि मैले यस भित्रको कला देख्न थालेको हुँ ।
यद्यपि यसलाई सजाउने र तस्बिर खिच्ने आइडिया चाहीँ सामाजिक अभियानका क्रममा कोरियामा अध्ययन गर्न पुगेको बेला आएको हो । १० वर्षअघिदेखि सुरु भएको यो कलाका सबैजसो तस्बिर अहिले मसँग सुरक्षित छन् । मैले मेरो दाह्री जुँगालाई एक दशकका अवधिमा १ सय ५० रुप दिएको छु । मेरा दाह्री जुँगाका हरेक शैलि मेरा लागि साहित्यकारका नयाँ पुस्तक वा गायकका नयाँ गीत जस्ता लाग्छन् ।
यो अरु कला जस्तै गाह्रो कला हो । यसका लागि म पुस्तकमा वर्णन भएका पात्रहरु, सिनेमामा देखिएका कलाकारहरुका अनुहारमा आफ्ना कल्पनाहरु प्रयोग गर्छु । इन्टरनेटका विभिन्न साइटहरुमा पाइने मानिसका दाह्री जुँगा पनि मेरो कलाका स्रोत हुन् । आजभोली कसै कसैले मलाई यी कलाको आइडिया दिनुहुन्छ । तर पुस्तकभित्रका पात्र, सिनेमाका कलाकार र इन्टरनेटमा भेटिएका तस्विरलाई मेरो दाह्री जुँगा अनुसार डिजाइन म आफैँ गर्ने भएकाले मलाई अपार आनन्द लाग्छ ।
म साहित्यको पाठक हुँ तर साहित्य रच्न सक्दिन । तर यो दाह्री कलामा कतै न कतै साहित्यको योगदान छ भन्न मलाई गाह्रो लाग्दैन ।
साभार : साहित्यपोष्ट डट कम